आज साउनको अन्तिम सोमबार पशुपतिलगायत शिवालयमा भक्तजनकाे भीड
काठमाडाैं । साउन महिना भगवान शिवको अति प्रिय महिना मानिन्छ । विशेष गरी साउनको सोमवार व्रत बसी भगवान शिवको जलअभिषेक, पूजा र ध्यान गर्नाले पारिवारिक सुख, शान्ति, निरोगिता र मनोकाङ्क्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै क्रममा काठमाण्डाैँकाे पशुपतिनाथ लगायतका शिवालयमा भक्तजनकाे भीड लागेकाे छ ।
आज साउनको अन्तिम सोमवार भएकाले महिनाभरि सोमवारे व्रत बसेका श्रद्धालुहरूले विशेष साङ्ग्रो (व्रत उद्यापन) गरी पूजाआजा सम्पन्न गरिरहेका छन् । पशुपति परिसरमा बोलबम ! जय शिव ! को ओझपूर्ण ध्वनि गुञ्जिरहेको छ ।
सुन्दरीजलबाट धापेर पवित्र वागमतीको जल ल्याई पशुपतिनाथको ज्योतिर्लिङ्गमा चढाउने बोलबमका गेरुवा वस्त्रधारी टोलीहरू विशेष आकर्षण बनेका छन् । युवायुवतीहरू हातमा रुद्राक्ष, बेलपत्र र तामाको कलश समातेर शिवभक्तिमा झुमिरहेका देखिन्छन् ।
साथै, पशुपतिको पावन पृष्ठभूमिमा आफ्ना परिवार र साथीहरूसँग सेल्फी र तस्बिर खिचेर यो पवित्र दिनलाई स्मरणीय बनाउने दृश्य पनि मनमोहक छ । साउनको सोमवार पशुपतिनाथमा अर्पण गरिएको एउटै बेलपत्र र वागमतीको जलले करोडौँ जन्मको पाप पखाल्ने धार्मिक मान्यता छ ।
पशुपतिको बाहिरी परिसरमा असहायहरूलाई भोजन तथा दानपुण्य गर्ने क्रम पनि निरन्तर चलिरहेको छ । मन्दिरको मूल प्राङ्गण तथा वागमती किनारमा पण्डित–पुजारीहरूबाट संकल्प गराई रुद्री, चण्डी पाठ तथा टीका–प्रसाद ग्रहण गर्ने भक्तजनहरूको भीड छ ।







