रोजिनाले चुमिन् मिस ग्ल्याम

निरन्तर न्यूज
६ माघ २०७६, सोमबार ११:५८

काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल-२०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन्। उनले राजधानीको ठमेलस्थित छाया सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेस्ट वाकको उपाधिसमेत हात पारिन्। उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हास्य साम्राज्ञी वसुन्धरा भुसालले प्रदान गरेकी थिइन्।

१३ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा बर्दिबासकी रेनुका बोगटी फस्ट रनरअप र धरानकी सम्झना परियार सेकेन्ड रनरअप भए। सम्झनाले मिस ग्ल्याम लुकको उपाधिसमेत हात पारिन्। उनीहरूलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

यस्तै प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन् भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस बेस्ट पर्सानालिटी, इलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेस्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसिप्लिनकोे उपाधि हात पार्न सफल भए।

प्रतियोगितामा विभिन्न अडिसनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए। प्रतियोगिताले किशोरीमा आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वक्तृत्वकलाको विकास गराउने र नेपाली पोसाकलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष तामाङले बताए।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञबाट प्रतियोगीलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेक्टर सुस्मिता गोलेले जानकारी गराइन्।

अन्तिम प्रतिस्पर्धाको निर्णायकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा ल्हामु शेर्पा र सौन्दर्यविद् शशि शाही रहेका थिए। गायक बुद्ध लामा यो प्रतियोगिताको ब्रान्ड एम्बेसडरसमेत रहेका छन्। प्रतियोगितामा बुद्ध लामा र सत्यकला राईको सांगीतिक प्रस्तुति रहेको थियो।

एउटै स्टेजमा तीन विजेता घोषित

किड्डी फेस अफ दी इयर- २०२०’ को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन्। आगमन बालक सिनियरतर्फ शीर्ष विजेता चुनिँदा बालिकातर्फ पेमा सिनियर र तहिस्मा जुनियरतर्फको शीर्ष विजेता घोषित भए। तीनैजना विजेताले उपाधिका साथै विभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे। कार्यक्रममा तीनै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाकारी दियो।

राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फस्टरनर अप, केन्द्रित पौडेल सेकेन्ड रनरअप चुनिँदा बालक जुनियरतर्फ प्रतीक भट्ट फस्ट रनरअप र जयश अग्रवाल सेकेन्ड रनरअफ भए।

त्यस्तै, बालिका सिनियरतर्फ ग्रेसी शाक्य फस्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप हुँदा जुनियरतर्फ फस्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए। ९ देखि १४ वर्षसम्मका ७ बालक र २५ बालिका गरेर ३२ सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्ट्याइएको थियो।

बालबालिकाको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि गर्दै उज्ज्वल भविष्य निर्माणका लागि उनीहरूलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो।

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर राज फैजूले गरेका थिए। नीलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (विजेता मिस टिन कन्टेस्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री) मधुसूदन भट्टराई (चलचित्र निर्देशक), आशिष थापालगायत प्रतियोगिताको निर्णायक रहेका थिए।

कार्यक्रममा बालबालिकालाई आकर्षक पहिरनमा र्‍याम्पवाकसमेत गराइएको थियो। प्रतियोगीले लगाएको पहिरनको डिजाइन श्रीषा बैदार फैजूले तयार पारेकी हुन्।श्रोत अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु