फिल्म ‘साङ्लो’को गीत ‘झ्याम्मै आँखा झ्याम्मै’लाई चोरीको आरोप

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण निर्देशक रहेको फिल्म हो ‘साङ्लो’को गीत ‘झ्याम्मै आँखा झ्याम्मै’लाई चोरीको आरोप लागेको छ । केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’का निर्देशक सुदीप भुपाल सिंहले आफ्नो गीत ‘साङ्लो’ले चोरेको आरोप लगाएका हुन् ।
२४ माघबाट सार्वजनिक प्रदर्शनमा आउने तयारिमा रहेको फिल्म ‘साङ्लो’ ले यो गीत डान्सिङ नम्बरको रुपमा केही दिन पहिले मात्र सार्वजनिक गरेको हो । गीत सार्वजनिक भएपछि आफ्नो गीत चोरीएको सुदीपले थाहा पाएका हुन् । गीत चोरीको विषयमा सुदीपले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी समेत दिएका छन् ।
‘गीतको मर्म समेत बिगारेर चोरी गरिएको छ । मेरो नाम पनि दिइएको छैन’ सुदीपले भने ‘न्यायका लागि प्रहरी समक्ष पुगेको हो ।’ फिल्मको झ्याम्मै आँखा झ्याम्मै’ गीत आफ्नो बाहिर नआएको गीतसँग मिलेको छ सुदीपको दाबी छ ।
सुदीपले गीतका संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र चलचित्र निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध चोरीको उजुरी दिएका हुन् । जसको पुष्टि समेत सुदीपले गरेका छन् । ‘वारी हाम्रो महाकाली पारि सारदा, झन्डै मत चिप्लेको आँखा मारदा’ मेरो गीतमा थियो । अहिले त्यो गीत चोरेर रोबोस् तिम्रो जवानी लठ्ठै पार्दा, झन्डै मत गुल्टेको आँखा मार्दा’ बनाइयो’ सुदीपले अगाडि भने ‘गीत पुरै मिलेको भए एउटा कुरो हुन्थ्यो । तोडमोड गेर बनाइएकोले झन् रिस उठेको छ ।’
फिल्मका लागि गीत संगीतकार सुरेश अधिकारीले दिएका हुन् । गीत चोरी भएको भनेर भन्न नमिल्ने संगीतकार अधिकारीले बताए । ‘गीतमा सुदीपको शब्द हो र अहिले पनि त्यही हुन्छ’ अधिकारीले भने ‘टेक्निकल गडबढीका कारण शब्दमा अन्यको नाम भएको हो । यो सच्याउने प्रयासमा हामी छौ ।’
प्रहरीको उजुरीमा सुदीपले गीतको मर्म समेत बिगारेको आरोप समेत लगाएका छन् । उक्त आरोप पनि स्वीकार्ने पक्षमा अधिकारी भने छैनन् । संगीतकार सुरेशको भने गीत बिगारेको बिषयमा बेग्लै धारणा रहेको छ । ‘कुनै पनि गीतकारले दिएको गीत फिल्ममा आउदा हुबहु आउँदैन । यो सबैलाई थाहा भएको बिषय हो’ अधिकारीले भने ‘फिल्मको कथाको मर्म र संगीतको धारणा अनुसार केही शब्द फरक पार्नु पर्ने हुन्छ । यसलाई गीत बिगारेको भन्न मिल्दैन ।’ गीतको प्रयोग र शब्द चेन्ज भएको बिषयमा आफुले पहिले नै थाहा दिन खोजे पनि सुदीपसँग सम्पर्क नआएको सुरेशको भनाई रहेको छ ।
‘गीत मैले धेरै खर्च गरेर बनाएको थियो । फिल्मका लागि मिल्दो जूल्दो भएकोले दिएको हो’ सुरेशले अगाडि थपे ‘यसमा मेरो केही कमीकमजोरी भएको होलान् । तर बिवाद गर्नु पर्ने र चोरी भन्न मिल्ने बिषय भने होइन ।’
गीतको बिषयमा भएको कमीकमजोरी फिल्म निर्माण कम्पनी र आफुबाट सच्याउने पहल भइरहेको अधिकारीको भनाई रहेको छ । यस बिषयमा फिल्मका निर्माता निर्देशक विराजसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
फिल्म ‘साङ्लो’मा विराज भट्ट र निकिता चाण्डकको अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पी. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । श्रोत रातो पाटी