किसानका छोरा सुगा जापानको नयाँ प्रधानमन्त्री बन्दै
काठमाडौँ । सन् १९४८ मा स्ट्रबेरी किसानहरूको परिवारमा जन्मिएका योशिहिदे सुगा जापानी राजनीतिमा हालीमुहाली गर्ने सम्भ्रान्तहरूभन्दा फरक किसिमका राजनीतिकर्मी हुन् ।
टोक्योको होसेइ विश्वविद्यालयबाट स्नातकोत्तर सकेलगत्तै उनले संसदीय निर्वाचन अभियानमा काम थालेर राजनीतिक यात्रा शुरू गरेका थिए ।
पछि उनी लिबरल डेमोक्रेटिक पार्टीका एक सांसदको सचिव बने अनि आफ्नै राजनीतिक करीयर शुरू गरे ।
सन् १९८७ मा उनी योकोहामा नगर परिषदमा निर्वाचित भए र सन् १९९६ मा पहिलोपटक जापानी संसद् डायटमा निर्वाचित भए ।
सन् २००५ मा तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई गृह तथा सञ्चार मन्त्रालयको वरिष्ठ उपमन्त्री बनाए ।
त्यसको एक वर्षपछि कोइजुमीका उत्तराधिकारी शिन्जो आबेले उनलाई तीनवटा मन्त्रालय सम्हाल्ने गरी मन्त्रीमा बढुवा गरे ।
आबे पछि सन् २०१२ मा पुनः प्रधानमन्त्री आबे बन्दा सुगालाई चीफ क्याबिनेट सेक्रेटरी जस्तो प्रभावशाली पदमा नियुक्त गरे ।
विगत आठ वर्षदेखि आबेको दाहिने हातका रूपमा रहेका सुगाले दैनिक मिडिया ब्रीफिङ गर्ने गरेका छन् र जापानको जटिल कर्मचारीतन्त्रलाई व्यवस्थापन गर्ने छवि बनाएका छन् ।
सरकारको सार्वजनिक मुहारका रूपमा उनले सन् २०१९ मा नयाँ राजाको नाम घोषणा गरे । सम्राट अकिहितोले गद्दी त्यागेपछि उनका छोरा नारुहितोको शासन शुरू भयो जसलाई रेइवा भनी सुगाले नाम दिए । त्यसपछि
उनलाई रेइवा काका भनी सम्बोधन गर्न थालियो ।
शिन्जो आबेले अगस्ट २८ मा स्वास्थ्यको कारण दर्शाउँदै पदत्यागको घोषणा गरेपछि सुगा नै उनको उत्तराधिकारी बन्ने अनुमान गरिएको थियो ।
सेप्टेम्बर २ मा उनले पार्टी प्रमुखका लागि औपचारिक उम्मेदवारीको घोषणा गरेपछि पार्टीका बहुमत गुटहरूले उनलाई समर्थन गरेका थिए ।
पार्टीको कुनै पनि गुटमा नरही अनि राजनीतिक विरासत पनि नभई पार्टी प्रमुख बनी सुगाले सोमवार इतिहास बनाएका छन् । अब उनलाई प्रधानमन्त्रीका रूपमा औपचारिक निर्वाचित हुन बाटो खुलेको छ ।
आबेको कार्यकाल बीचैमा टुंगिएपछि सुगाले निरन्तरता र स्थिरताको प्रतिनिधित्व गरेका छन् ।
एलडीपी दलको नेतृत्वमा लड्ने घोषणा गरेपछि सुगाले आबेको आर्थिक नीति आबेनोमिक्सलाई निरन्तरता दिने बताएका छन् । मौद्रिक सहजता, आर्थिक पुनरुत्थान प्याकेज र संरचनागत सुधार लगायतका कुरा त्यसमा पर्छन् ।
उनले दोस्रो विश्वयुद्धपछि बनाइएको जापानको शान्तिवादी संविधानलाई संशोधन गर्ने लक्ष्य लिएका छन् जुन आबेको प्रमुख एजेन्डा रहिआएको छ ।
तर तत्कालका लागि कोभिड–१९ महामारी नियन्त्रण तथा त्यसले ल्याएको आर्थिक सुस्ततालाई सम्बोधन गर्नु नै उनको प्राथमिकता हो ।श्रोत लोकान्त









