चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री नेपाल आउने
काठमाडौं । संसद विघटन र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनकै बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् ।
संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रम र सत्तारुढ दल नेकपा विभाजनका बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । येझाउको यो भ्रमण नेकपा विभाजनपछि चीनको पार्टीका उच्च प्रतिनिधि मण्डलको भ्रमण हो । उनले भ्रमणका समयमा नेकपा विभाजनको कारण बुझ्ने स्रोतले जानकारी दिएको छ ।
उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले चार दिन नेपालमा रहने क्रममा दुवै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ ।
चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।
उपमन्त्रीसँगै एक प्रतिनिधि मण्डल आइतबार काठमाडौं आउने छ । गुओ यसअघि सन् २०१८ मा पनि नेपाल आइसकेका छन् । गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए ।









