न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुपेन्द्र बस्नेत
१० आश्विन २०७९, सोमबार ११:२८

नेपाल अमेरिका पत्रकार संघ (नेजा)अमेरिकाको सातौं अधिवेशन तथा चौधौं वार्षिक साधारणसभा सफलताका साथ सम्पन्न भएको छ ।

गत जुलाई २४ र २५ तारिखका दिन अमेरिकाको भर्जिनियामा सम्पन्न अधिवेशनले आगामी दुइ वर्षिय कार्यकाल (सन् २०२१ -२३) का लागि विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेजाको नेतृत्त्व लिनका लागि ६ जना चुनावी मैदानमा उत्रिएका थिए। तर, मतदान प्रक्रिया सुरु हुनु अगावै विष्णुहरि घिमिरे, निदेश अधिकारी र किरणबाबु मरहठ्ठाले सर्वसम्मतिमा नेतृत्व चयन हुने अपेक्षाका साथ उमेदवारी फिर्ता लिएर चुनावी मैदान छोडिदिनु भएको थियो ।तर,बाँकी तीन जना आकाँक्षीहरुका बिच सहमतिमा नेतृत्व चयन गर्न हरसम्भव प्रयास गरिएको भएता पनि सफलता नमिले पछि निर्वाचन समितिले ढिलो गरी मतदानको प्रक्रिया सुरु गरेको थियो । मतदान परिणाम अनुसार विकासराज न्यौपानेले मतदान प्रक्रियामा होमिएका आफ्ना दुई प्रतिस्पर्धीहरु अनुज थापा र गोकुल ढकाललाई पछि पार्दै नेतृत्वको बागडोर सम्हाल्न सफल हुनु भएको हो।यसैगरी, उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले आफ्नो प्रतिस्पर्धी किसान रेग्मीलाई पराजित गर्नु भएको हो । निर्वाचन प्रक्रियामा महासचिव पदकालागि ध्रुव कुँवर , सुरज भण्डारी र प्रसान (वीर) एलुङ राईले उमेदवारी दर्ता गराउनु भएको थियो । तर, सहमतिमा नेतृत्व चयन गर्न मार्ग प्रसस्त गरेको भन्दै ध्रुव कुँवरले आफ्नो उमेदवारी फिर्ता लिनु भएको थियो । अरु दुई उमेदवारका बिचमा सहमति जुट्न नसके पछि अन्ति टुंगो लगाउन अन्ततः प्रजातान्त्रिक अभ्यासको बाटो ‘मतदान ‘ प्रक्रियाकै सहायता लिनु पर्यो । निर्वाचनको अन्तिम मत परिणाम अनुसार भण्डारीले आफ्नो प्रतिस्पर्धी राईलाई पराजित गर्दै चयन हुन सफल हुनु भयो। कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध चयन भए । सचिव पदमा कल्पना घिमिरे र कोषाध्यक्ष पदमा प्रभात भट्टराई निर्विरोध निर्वाचित हुनु भयो । यसैगरी , क्षेत्रीय संयोजकहरु पनि निर्विरोध निर्वाचित हुनु भएका छन्।निर्वाचन परिणाम अनुसार सुजन पण्डित (दक्षिण) , शिव नेपाल (पश्चिम) , लिला देवी ओझा(डिसी मेट्रो) र गोकुल श्रेष्ठ (उत्तर पूर्व) चयन हुनु भएको छ । नयाँ कार्यसमितिमा ४ सदस्य पदका लागि ४ जनाको मात्र उमेदवारी परेकाले निर्वाचन समितिले चारै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्यो। जस अनुसार अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानिया र ज्ञानप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ।

निर्वाचन परिणाम सार्वजनिक भए लगतै निरन्तर न्यूजका प्रतिनिधिसंग कुराकानी गर्दै न्यौपानेले आफ्नो अमुल्य मतदान दिएर निर्वाचित गराउनु हुने मतदाताहरुलाई बिशेष धन्यवाद दिदै आभार प्रकट गर्नु भयो।गत कार्यसमितिका कार्यवाहक अध्यक्ष समेत रहनु भएका न्यौपानेले खुशी ब्यक्त गर्दै निर्वाचन सफलताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने,निर्वाचन समित , मतदाता,अग्रजहरु ,पूर्व कार्य समितिहरु, सरोकारवालाहरु , सहयोगीहरु र पत्रकारहरुलाई धन्यवाद व्यक्त गर्नु भयो।सातौं अधिवेशनबाट निर्वाचित हुनु हुने सबैलाई बधाई दिदै न्यौपानेले निर्वाचनको प्रक्रियामा सामेल हुनु भएका सम्पूर्ण उमेदवारहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो।उहाँले निर्वाचन एक गणितीय परिमाणात्मक परिणाम मात्र भएकाले,संस्थालाई संस्थागत गर्दै गुणात्मक उचाइमा पुर्याउन सबैको साथ र सहयोगका लागि अपिल गर्नु भयो।नव निर्वाचित अध्यक्ष न्यौपानेले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिब्द्धता जाहेर गर्दै गर्दा पराजित भएका उमेदवारहरुले पनि संस्थालाई आवश्यक पर्दा सक्दो सहयोगी भूमिका निर्वाह गर्ने बचनबद्धता गरेका थिए। निर्वाचन परिणाम पश्चात विजयी हुने र पराजित हुने उमेदवारहरुका बिचमा देखिएको हार्दिकता, साच्चै उदाहरणीय र कदरयोग्य थियो । निर्वाचन परिणाम पश्चात नव निर्वाचित कार्यसमितिलाई कार्यक्रमको प्रमुख्य आतिथ्यता ग्रहण गर्न नेपालदेखि अमेरिका आउनु भएका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताको कामना गर्नु भयो । नेपाल र अमेरिकामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको स्तरउन्नति र प्रगतिका लागि नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा कदरयोग्य काम गरेर देखाउने अपेक्षा गर्दै पोख्रेलले भन्नु भयो ,’ संस्थागत हुदै गरेको नेजालाई अझ उचाइमा पुर्याएर संस्थाको गरिमा बढाउन नयाँ कार्यसमिति प्रतिबद्ध भएर लाग्ने छ भन्नेमा म विश्वस्त छु ।र, आगामी दिनमा नेपाल अमेरिका पत्रकार संघ र नेपाल पत्रकार महासंघका बिच अझ प्रभाकारी ढंगबाट सम्बन्ध स्थापित गर्न दुबै क्रियाशिल हुन जरुरी ठान्दछु ।’ उहाँले भन्नु भयो, ‘ दुबै संस्था र संस्थामा आबद्धहरुको भलोका लागि आवश्यकतानुसार ज्ञान र सीपहरु एक आपसमा आदानप्रदान गर्नु अरिहार्य भएको कुरामा जोड दिनु भयो ।

निर्वाचन परिणाम लगतै आङ छिरिङ शेर्पा संयोजक तथा नारायण सापकोटा,भोला आचार्य र शैलेश पोखरेल सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचितहरुलाई संस्थाको विधान अनुसार सपथग्रहण गराएको थियो।सपथग्रहण पश्चात् पुरानो कार्यसमिति र नयाँ कार्यसमितिका बिच बुझबुझारतको काम समेत सम्पन्न गरिएको थियो। यसैबिच,नवनिर्वाचित कार्य समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले सातौं अधिवेशन तथा चौधौ वार्षिक साधारणसभालाई सफलताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नु हुने प्रमुख अतिथि,अतिथिहरु, सरोकारवाला संस्था तथा प्रतिनिधिहरु, पूर्व कार्यसमिति , निर्वाचन समिति,संस्थाका सदस्यहरु , सल्लाकारहरु,सहयोगहरु,अन्य लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*