ठगको जुक्ती प्रहरीले फेल खुवायो

निरन्तर न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार १९:३२

हेटौँडा । ठग्नको लागि मानिसले अनेक जुक्ति लगाउने कुरा नौले होइन । तर त्यस्ता जुक्तिलाई पनि प्रहरीले फेल खुवाइदिएको छ ।

हेटौँडाको ४ पारिजातपथमा रहेको घिमिरे ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक सेन्टरमा जेठ १० गते सामान चोरी हुन्छ । प्रहरीमा उजुरी पर्छ । घटना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिन्छ । यसै वीचमा मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले घटनालाई सुक्ष्म ढंगले अनुसन्धान गर्न प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईलाई  जिम्मा दिन्छन् ।

भट्टराईको कमाण्डले  घटनाबारे गहिरो अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाए पछि आज शुक्रबार घटनाबारे  पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्दा बैक र बीमा कम्पनीलाई झुक्याउन चोरीको नाटक गरिएको तथ्य बाहिरीन्छ ।

आफ्नो पारिजातपथमा रहेको घिमिरे ईलेक्ट्रिक पसल चोरी भयो भनेर प्रहरीलाई गुहारेका सञ्चालक उमेश घिमिरे नै उक्त चोरी काण्डका योजनाकार रहेको प्रहरीले स्पष्ट पारेको छ । घिमिरेलाई अनुसन्धान पछि प्रहरीले पक्राउ गरि आज पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराएको थियो । पसल संचालक घिमिरेले बैंकको कर्जा तिर्ने भाका सार्न र पसलको  बिमा दाबी गर्ने योजना बनाई जानाजान चोरी गरेको रहस्य खुलेको छ ।

पसल संचालकका दाई रुद्र प्रसाद घिमिरेले १७ लाख ३० हजार १ सय ७२ रुपैयाको ३१ बोरा घरमा वाईरिङ गर्ने तार, १ लाख ९९ हजार ९ सय १२ रुपैयाको एलईडी बल्बहरु अन्दाजी १२ कार्टुन, ९ लाख ३२ हजार ४ सय रुपैयाको बत्तिको स्विच १४ कार्टुन, १ लाख १८ हजार ८ सय रुपैयाको सिलिङ पंखा ४ कार्टुन र नगद रकम ३ लाख १२ हजार रुपैया गरि जम्मा ३२ लाख ९३ हजार २ सय ८४ रुपैया चोरी भएको निवेदनमा उल्ले गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार सनराईज बैंकमा ५० लाख रुपैया कर्जा रहेको र बैंकले बारम्बार ताकेता गरेपछि छिट्टै कर्जा चुक्ता गर्न सञ्चालकले झुटो निवेदन दिनुको कारण रहेको पाइएको छ ।

बैंकलाई आफ्नो पसल चोरी भएको कारण केही समय कर्जा तिर्ने भाका सारी दिन अनुरोध गर्ने र ३० अप्रिल २०१९ मा ५० लाख रुपैया बराबरको सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडमा उक्त पसलको बिमा गरेको देखिएकाले चोरीको बिमा दाबी गरी बैंकको कर्जा चुक्ता गर्ने योजना घिमिरेको रहेकोले यस्तो गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान टोली समक्ष उमेशले चोरी भएको ३१ बोरा वाईरिङको तार ८ गतै नै काठमाडौंको सामान बेच्ने व्यवसायीबाट डेलीभरी लिएको भनिएकोमा उक्त सामानको डेलिभरिनै नलिएको पाइएको हो ।

साथै एलईडी बल्ब अन्दाजी १२ कार्टुन, स्विच १४ कार्टुन, सिलिङ पंखा ४ कार्टुन चोरी भएको भनिएको सबै सामान निजले हेटौंडा उपमहानगरपालिका ४ पारिजात पथ स्थित देवेन्द्र सापकोटाको घरमा कोठा भाडामा लिई लुकाई राखेको अवस्थामा प्रहरीले एलईडी ११ कार्टुन, स्विच ९ कार्टुन, सिलिङ पंखा ४ कार्टुन बरामद गरेको प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु