मकवानपुरकाे मनहरीमा २१ फागुनबाट खेलकुद तथा व्यापार महोत्सव हुने

मनहरी। मकवानपुरको मनहरी गाउँपालिकामा खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेकाे महाेत्सवलाई गाउँ कार्यपालिकाको संरक्षण रहने तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहने छ ।
२१ फागुनदेखि ४ चैतसम्म हुने मनहरी खेलकुद तथा व्यापार महोत्सव मनहरीकाे वडा नम्बर ८ स्थित सिम्पानीको खेल मैदानमा हुने समिति सदस्य चन्द्र सिंह स्याङ्तानले पत्रकार भेटघाट मार्फत जानकारी दिए । मनहरीकाे लामिटार स्थित प्रशासनिक भवन आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा खेलाडीको पहिचान गराउन, खेलको प्रवर्द्धन गर्न, व्यापार प्रवर्द्धन गर्न र भातृत्वको सम्बन्ध कायम गराउन खेलकुद तथा व्यापार महोत्सव गर्न लागेको उनले बताए ।
महोत्सवमा करिब २ सय संख्यामा स्टलहरु रहने छन् भने विभिन्न राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएकाे छ । महोत्सवमा फुटबल, भलिबल, ब्याडमिन्टन, टी–१० क्रिकेट, एथ्लेक्टिक्सलगायतका खेलहरूखेलाइने छ । ५ करोड रूपैयाँको कारोबार हुने अनुमान रहेको महोत्सवमा १ लाखको हाराहारीमा दर्शकहरूले अवलाेकन तथा भ्रमण गर्ने समेत अनुमान गरिएको स्याङ्तानले जानकारी दिए ।
महाेत्सव अवधीमा संचालन हुने अध्यक्ष कप फुटबल प्रतियाेगिताकाे उपाधि विजेता टिमले १ लाख रूपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसैगरी उपाध्यक्ष कप भलिबल प्रतियाेगितको विजेता टिमले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । क्रिकेट प्रतियोगिताकाे विजेता र उपविजेता टिमकले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकाे छ । व्याड्मिन्टनको बिजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
ब्याडमिन्टन (डबल) प्रतियोगिता तर्फ विजेता तथा उपविजेता टिमले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । एथलेटिक्स तर्फ २ सय मिटर खुल्ला दौड विजेता र उपविजेताले क्रमशः १५ हजार रुपैयाँ र ७ हजार ५ पाँच सय रुपैयाँ प्राप्त गर्दा १ सय मिटर खुल्ला दौडको विजेता र उपविजेताले क्रमशः १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसका साथै हरेक प्रतियोगिताका विधागत उत्कृष्ठ खेलाडीलाई नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएकाे छ ।
महोत्सवमा समावेश गरिएको खेलहरु मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ मा संचालन हुनेछ । फुटबल, क्रिकेट र एथलेटिक्स मनहरी ७ रमौली स्थित मनहरी क्षेत्रीय रंगशालामा संचालन गरिनेछ । त्यस्तै ब्याडमिन्टन मनहरी ७ रमनटार स्थित रविन स्मृति कभर्डहलमा संचालन हुनेछ भने उपाध्यक्ष भलिबल प्रतियोगिता मनहरी ८ सिम्पानी स्थित गणेशधारा फुटबल चौरमा संचालन हुने बताइएकाे छ।