विद्युत् अवरुद्ध हुँदा अस्पताल सेवा अवरुद्ध हुने विषय गम्भीर

निरन्तर न्यूज
१ जेष्ठ २०८२, बुधबार १९:१०

हेटाैँडा । बिजुली अवरुद्ध भएर अस्पताल सेवा अवरोध हुने विषयमा सराेकारवालाहरुले नीतिगत तहमा यस्ता विषयलाई समाधान गर्नुपर्ने बताएका छन् । 

आज हेटाैँडामा भएकाे बिद्युत अवरुद्ध हुनु सँगै अस्पताल सेवा अवरुद्ध हुने विषयमा गरिएकाे छलफलका वक्ताहरुले यसबाट आइपर्ने विभिन्न समस्या र त्यसका समाधानका विषयमा आफ्ना धारणा राखेका थिए ।

कार्यशालामा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले वैकल्पिक उर्जा स्रोतहरूको प्रयोगमा नीतिगत प्रतिबद्धता आवश्यक रहेका बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदिप ज्ञवालीले हेटौंडा अस्पतालमा मात्र नभई प्रदेशका १३ वटै अस्पतालहरुमा यस्ता अनुसन्धान आवश्यक रहेको बताए । यसलाई हामी सबेकाे सहकार्य र अनुसन्धात्मक पहलले मात्र सरकारसँग कार्य गर्न सकिने बाटाे खुल्ने विश्वास व्यक्त गरे ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटाले आकस्मिक रूपमा बिजुली जाँदा तत्काल सेवा सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक अभ्यास आवश्यक रहेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रबिता कार्कीले यस्ता कार्य गर्न सर्वप्रथम मापदण्ड बनाएर सरकारसँग कार्य गर्ने सकिने बताइन् । अधिकृत कार्कीले यस्ता कार्यकाे निरन्तर अनुगमन र मुल्यांकन गर्न सकेमा मात्र प्रभावकारी हुने बताइन् । हेटाैँडा उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खड्काले यस्ता संरचना बनाउँदा बिशेष सर्किट बनाएर बिजुली दिने र साैय उर्जालाई पनि समेट्न जरुरी रहेेका औल्याइन् । इन्जिनियर खड्काले यस्ता कार्य पब्लिक प्राइभेट पार्टनरसीप माेडलमा अघि बढाउन सकिने सुझाव दिइन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था नेपालले अस्पतालमा आकस्मिक रुपमा उर्जा कटौती हुँदा हुन सक्ने जोखिम, पूर्वतयारी लगायतका बारेमा सरोकारवाला निकायसँग छलफल गरेको हो ।

प्राकृतिक विपद्, प्राविधिक समस्या वा अन्य विविध कारणले विजुली आपूर्तीमा अवरोध आउँदा अस्पतालको सेवा प्रवाहमा पर्न सक्ने प्रभावका विषयमा कार्यशाला केन्द्रित रहेको थियो । कार्यक्रममा सहभागिहरुले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा डेडिकेटेड लाइनको व्यवस्था हुनुपर्ने, वैकल्पिक उर्जाका स्रोतहरुमा लगानी बढाउनुपर्ने, समय समयमा जेनेरेटरको क्षमता जाँच हुनुपर्ने, अस्पतालहरुमा उर्जा आपूर्ति कटौती हुनै नदिने प्रतिबद्धता सहितको नीति बनाउनुपर्ने र बजेट विनियोजन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

साथै, अस्पतालहरू निर्माण गर्दा भू–गर्भीय अध्ययन अनिवार्य गरिनु पर्ने, कम उर्जा खपत गर्ने उपकरणहरूको प्राथमिकता दिनुपर्ने लगायतका सुझाव समेटिएको थियो । कार्यशालामा  संस्थाका कार्यकारी निर्देशक एवम्  अनुसन्धानकर्ता कञ्चनमणी दीक्षित, सुरेश भट्टराई, डाक्टर नरेश रिमाल, प्रतिष्ठानकाे हेटाैँडा ८ कमानेमा रहेकाे अनुसन्धान केन्द्र संयाेजक डाक्टर राेशन चाैधरी लगायतले पेश गरेको अनुसन्धान प्रतिवेदन अनुसार हेटौंडा अस्पताल रहेको स्थान प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देखाइएको छ ।

छलफलमा प्रदेश र स्थानीय तहका प्रतिनिधि स्वास्थ्यकर्मी, सञ्चारकर्मी, निजी क्षेत्रका प्रतिनिधि , नागरिक समाज, ऊर्जा प्रदायक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*