नेपाल भारत विश्वमैत्री संघको उपाध्यक्षमा मकवानपुरका प्रबिन

हेटाैँडा । नेपाल भारत विश्वमैत्री संघको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका प्रविन मैनाली चयन भएका छन् ।
संघको काठमाडौंमा भएको दोस्रो महाधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष पदमा दावी गर्दै आएका मैनालीले उपाध्यक्ष पदमा चित्त बुझाएका हुन् । सर्वसहमत रुपमा नयाँ नेतृत्व चयन गर्ने वातावरणका लागि उपाध्यक्ष पद स्वीकार गरिएको उनले बताए । महाधिवेशनबाट कुमुद लोहनीको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।
सहअध्यक्षमा जनकदीप पराजुली तथा उपाध्यक्षमा प्रविन मैनालीसहित युवराज श्रेष्ठ, सिताराम पोखरेल, ज्योतीराज राई, राधादेवी भण्डारी, सुदन रेग्मी तथा महिला उपाध्यक्षमा दिव्या सिंह चयन भएका छन् । महाधिवेशनले ३ वर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नेपाल भारत विश्वमैत्री संघका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले गरेका थिए । संस्थाको पहिलो कार्यसमिति बैठकले बाँकी पदाधिकारीको जिम्मेवारी बाँडफाँट गर्ने बताइएको छ ।