हेटौँडामा कपडा पसलेमाथि आक्रमण: नौ जना नियन्त्रणमा

हेटौँडा । हेटौँडा उपमहानगरपालिका १० राप्तीरोडस्थित दास इम्पोरियमका संचालक विन्दल दासमाथि आक्रमणको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दासमाथि आक्रमणको घटनामा संलग्नभएको अभियोगमा शंकास्पद नौ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । दास इम्पोरियम कपडा पसलमा अपरिचित तीन जना मोटरसाइकलमा आई कपडा किन्ने क्रममा मूल्य घटाउने विषयमा सामान्य विबाद हुँदा अपरिचित ब्यक्तिहरुले काठको बेलना(रोटी बेल्ने)ले दासमाथि प्रहार गरी घाइते बनाएको प्रहरीको भनाई छ । टाउको पछाडि भागमा चोट लागि घाइतेभएका दासको हेटौँडा अस्पताल मकवानपुरमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले कुटपिटमा संलग्न भएको आरोपमा नौ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
दासमाथि बिहीबार दिउँसो कपडा पसलमा आक्रमण भएको हो ।
यसैबिच मकवानपुर उद्योग वाणिज्य संघले उक्त घटनाको विरोध गर्दै दोषी उपर कारवाहीका लागि सुरक्षा निकायसमक्ष माग गरेको छ । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले बिहीबार एक विज्ञप्ति जारी गर्दै उद्योग/व्यवसाय क्षेत्र शान्तिपूर्ण रुपमा निर्वाध संचालन हुने सुनिश्चितता आवश्यक भएको बताउनुभएको छ ।
सामानको मोलमोलाइ नमिलेपछि असन्तुष्ट ग्राहकले असंयमित हुँदै आठ–नौ जना आक्रमणकारी जुटाइ योजनाबद्ध रुपमा आक्रमण गरिएको अध्यक्ष रानाभाटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगामी दिनहरुमा यस्ता घटनाहरु नदोहोरिन दिन ती आक्रमणकारीहरुलाई कानुनको दायरामा ल्याइ व्यवसायी तथा आमसर्वसाधारणमा फैलिएको त्रास निवारण गर्न भन्दै विज्ञप्तिमार्फत दोषी उपर कडा कारवाहीको लागि सुरक्षा निकायसँग माग गरिएको छ ।