विश्वकप फुटबल : डेम्बेलेको ह्याट्रिकमा फ्रान्स बन्याे समूह विजेता

निरन्तर न्यूज
१३ असार २०८३, शनिबार ०८:०६

काठमाडौँ ।  विश्वकप फुटबल अन्तर्गत समूह ‘आइ’ को अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गर्दै फ्रान्सले सतप्रतिशत जित निकाल्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ।

पहिलो हाफमा उस्मान डेम्बेलेले ह्याट्रिक गरेको खेलमा दोस्रो हाफको अन्तिम समयमा अर्को एक गोल थप्न फ्रान्स सफल भयो। समूहकै अर्को खेलमा सेनेगलले इराकलाई ५-० ले पराजित गर्यो। फराकिलो जितले सेनेगललाई उत्कृष्ट तेस्रो भएर नकआउट पुग्ने सम्भावनालाई कायम राख्यो।

नर्वे विरुद्ध फ्रान्सका स्टार स्ट्राइकर उस्मान डेम्बेलेले ३२ मिनेट भित्रै ह्याट्रिक पुरा गरेका थिए। यो सँगै पहिलो हाफमा फ्रान्सले ३-१ को अग्रता बनाउन फ्रान्स सफल भएको थियो। नर्वेका लागि थिलो आसगार्डाले एक गोल फर्काए। खेलको अन्तिम समयमा फ्रान्सका डिजायर डउले चौंथो गोल गरेका थिए।

नर्वेले भने फ्रान्स विरुद्ध अर्लिङ हालान्ड र मार्टिन ओडेगार्ड सहित १० खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको थियो।

सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको फ्रान्सले दबदबा कायम गर्यो। उसका स्टार डेम्बेलेले गरेको ह्याट्रिक जारी विश्वकपको तेस्रो ह्याट्रिकका रुपमा रह्यो। यसअघि अर्जेन्टिनाका स्टार लियोनेल मेसी र क्यानडाका जोनाथन डेभिडले ह्याट्रिक गरेका छन्।

डेम्बेलेका लागि भने कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो ह्याट्रिक हो। उनी अहिले अविश्वसनीय लयमा देखिएका छन्। उनका लामा र उत्कृष्ट प्रहारहरुले जालि चुम्दा नर्वेको डिफेन्स र गोलरक्षकले कुनै अवसर पाएनन्।

डेम्बेलेले खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। यसअघि सन् १९५४ मा एरिक प्रोब्स्टले अस्ट्रियका लागि चेकोस्लाभिया विरुद्ध २४औँ मिनेटमै ह्याट्रिक गर्दै सर्वाधिक चाँडो ह्याट्रिक गर्ने खेलाडीको किर्तिमान बनाएका थिए।

डेम्बेलेले ह्याट्रिकसँगै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको दाबेदारीमा आफूलाई उभ्याए। उनको कुल ४ गोल भएको छ। उनी एम्बाप्पे, हालान्ड र भिनिसियस जुनियरसँगै ४ गोल गर्ने खेलाडीको सूचिमा उक्लिए। जारी विश्वकपमा लियोनेल मेसी ५ गोल सहित शीर्ष स्थानमा छन्। आजको खेलमा एम्बाप्पेले भने कुनै गोल गर्न सकेनन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*