बिमल घर्तीमगरसहित ४ जना खेलाडीमाथि कारबाही

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य बिमल घर्तीमगरसहित ४ जना खेलाडीमाथि कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीमाथि छानबिन गर्न माग गरिएको छ ।
चार जिल्लाका अखिल नेपाल फुटबल संघले घर्तीमगरसहित अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कारबाही गर्ने एन्फाका पदाधिकारीमाथि छानबिन गर्न माग गरेका हुन् ।
काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका एन्फाले एक वक्तव्य जारी गर्दै खेलाडीहरुलाई कारबाही गर्ने एन्फा पदाधिकारीमाथि छानबिन गर्नुपर्ने बताएका छन् । रातको समयमा खेलाडी बाहिरिएको भनिएकाले प्रशिक्षक, व्यवस्थापक र होस्टेल व्यवस्थापकमाथि छानबिन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विश्वकप छनोटजस्तो महत्वपूर्ण खेलमा खेलाडीहरुसँग स्पष्टीकरण नलिई कारबाही गरिनु आश्चार्यको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
एन्फाले राष्ट्रिय टीमका प्रमुख खेलाडीहरु बिमल घर्तिमगर, अञ्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कारबाही गरेको थियो । कारबाही स्वरुप मंगलबार कुवेत विरुद्ध भुटानमा हुने खेलबाट उनीहरुलाई हटाइएको छ ।
शुक्रबार राति डिस्कोमा गई मादक पदार्थ सेवन गरी हल्ला गरेको भेटिएपछि उनीहरुमाथि कारबाही भएको हो ।